ठाकुरबाबा नगरपालिका–५ सैनवारमा बजार अनुगमन
तस्बिर :
बर्दिया, असोज २३। जिल्ला प्रशासन कार्यालय बर्दियाको समन्वयमा सहायक प्रमुख जिल्ला अधिकारी श्री अशोक कुमार भण्डारीको नेतृत्वमा ठाकुरबाबा नगरपालिका वडा नं. ५, सैनवार क्षेत्रमा बजार अनुगमन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागितामा आकस्मिक रूपमा गरिएको उक्त अनुगमनका क्रममा बजारमा सञ्चालित पसल तथा व्यवसायहरूको दर्ता र नवीकरणको अवस्था, सरसफाइ, ग्राहकलाई बिल–बिजक जारी गर्ने अभ्यास तथा म्याद नाघेका सामग्रीको बिक्री वितरण भए–नभएको विषयमा अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा व्यवसाय सञ्चालनसम्बन्धी आवश्यक कागजात, पसलको सरसफाइ तथा उपभोक्तालाई बिक्री गरिने वस्तुको गुणस्तर र उपभोग्य म्यादमा विशेष ध्यान दिइएको थियो। साथै, उपभोक्ताको स्वास्थ्य, हित र अधिकार संरक्षण गर्दै बजारमा स्वच्छता, पारदर्शिता तथा जिम्मेवार व्यावसायिक अभ्यास कायम गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो।
बजार अनुगमनको मुख्य उद्देश्य उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने, म्याद नाघेका सामग्रीको बिक्री वितरण नियन्त्रण गर्ने, व्यवसायलाई प्रचलित कानुनअनुसार सञ्चालन गर्न प्रोत्साहित गर्ने तथा बजारमा देखिन सक्ने अनियमितता न्यूनीकरण गर्नु रहेको छ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले उपभोक्ताको हित संरक्षण, बजारको स्वच्छता तथा व्यावसायिक अनुशासन कायम गर्न सम्बन्धित निकायसँगको समन्वयमा बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ। साथै, सम्पूर्ण व्यवसायीहरूलाई प्रचलित कानुन तथा मापदण्डको पालना गर्न र उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन अनुरोध गरिएको छ।
