जिल्ला कार्यालय प्रमुखहरूको बैठक र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको संयुक्त बैठक सम्पन्न
तस्बिर :
गुलरिया, बर्दिया ।
मिति २०८३ साल कार्तिक ११ गते जिल्ला प्रशासन कार्यालय, बर्दियाको सभाहलमा बर्दिया जिल्लामा कार्यक्षेत्र भएका कार्यालय प्रमुखहरूको बैठक तथा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको संयुक्त बैठक सम्पन्न भएको छ। बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षा, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, नागरिकका गुनासा सम्बोधन गर्ने, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, विकास निर्माण तथा समसामयिक जिल्लागत समस्याहरूको समाधानका विषयमा विस्तृत छलफल भएको थियो। बैठकमा रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा परी बेपत्ता भएका नागरिकहरूको विवरण यकिन गर्ने विषयलाई प्राथमिकताका साथ छलफल गर्दै बर्दिया जिल्लामा सरुवा भई आउनु भएका कार्यालय प्रमुखहरुलाई स्वागत सहित सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र सूचना आदानप्रदान गरी विवरणको यथार्थता सुनिश्चित गर्ने विषयमा जोड दिइयो।
त्यसैगरी, जिल्लामा सार्वजनिक सेवा प्रवाहलाई सहज, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने, सेवाग्राहीका गुनासा समयमै सम्बोधन गर्ने, स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्ने र जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। साथै, विकास निर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने तथा सम्बन्धित कार्यालयहरूबीच समन्वय र सहकार्य सुदृढ गर्ने विषयमा समेत जोड दिइयो। आगामी शीतलहरबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा जोखिममा रहेका नागरिकको संरक्षणका लागि शीतलहर आकस्मिक योजना, २०८३ निर्माण तथा कार्यान्वयनको तयारी गर्ने विषयमा छलफल गरियो। यसैगरी, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, सम्भावित जोखिमको पहिचान, जनचेतना अभिवृद्धि तथा सम्बन्धित निकायहरूबीच समन्वय गरी आवश्यक पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो। बैठकमा बंगालको खाडीमा विकसित भएको चक्रवातीय प्रणालीका कारण मिति २०८३ साल कार्तिक १३ र १४ गते बर्दिया जिल्लामा हावाहुरीसहित वर्षा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सम्भावित जोखिम तथा क्षति न्यूनीकरणका उपायहरूबारे विशेष छलफल भएको थियो। सम्भावित विपद्को पूर्वतयारी, जोखिमयुक्त क्षेत्रको निगरानी, आवश्यक सूचना तथा पूर्वचेतावनीको सम्प्रेषण, खोज तथा उद्धारका लागि तयारी अवस्था कायम राख्ने र सम्बन्धित सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्ने विषयमा जोड दिइयो। बैठकमा छलफल भएका विषयहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित कार्यालय तथा निकायहरूले आ–आफ्नो जिम्मेवारीअनुसार आवश्यक कार्य अघि बढाउने, अन्तरनिकाय समन्वयलाई थप सुदृढ गर्ने तथा सम्भावित विपद्का घटनाबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्यलाई चुस्तदुरुस्त राख्ने सम्बन्धमा आवश्यक निर्णयहरू गरिएको छ।
जिल्लाको शान्ति सुरक्षा, सुशासन, प्रभावकारी सेवा प्रवाह, विकास निर्माण तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै नागरिकको जीवन, सम्पत्ति र जनजीविकाको संरक्षण गर्न सम्बन्धित सबै निकायबीच समन्वय, सहकार्य र जिम्मेवारीपूर्ण कार्यसम्पादन आवश्यक रहेकोमा बैठकले जोड दिएको छ।
