बालआश्रम माया सदनको स्थलगत निरीक्षण तथा अनुगमन
तस्बिर :
बर्दिया, गुलरिया। मिति २०८३।०६।२३ गते।
जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी श्री अशोक कुमार भण्डारीको नेतृत्वमा मिति २०८३।०६।२३ गते ठाकुरबाबा नगरपालिकामा सञ्चालित बालआश्रम माया सदनको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको छ।
निरीक्षण तथा अनुगमनका क्रममा बालआश्रमको समग्र अवस्था, बालबालिकाको संरक्षण, हेरचाह, पालनपोषण, स्वास्थ्य, शिक्षा, पोषण तथा सुरक्षित वातावरणसम्बन्धी विषयमा स्थलगत जानकारी लिइएको थियो। साथै, बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न बालआश्रमले निर्वाह गर्नुपर्ने जिम्मेवारी, सेवा प्रवाहको अवस्था, लागु औषध दुर्व्यसनीबाट बालबालिकालाई टाढा राख्नु पर्ने तथा आवश्यक सुधारका विषयमा समेत जानकारी लिइएको थियो।
बालबालिकाको अधिकारको संरक्षण, संवर्द्धन तथा उनीहरूको सुरक्षित र मर्यादित जीवन सुनिश्चित गर्नु राज्यका सम्बन्धित निकाय, स्थानीय तह तथा सरोकारवाला सबैको साझा दायित्व हो। यसै सन्दर्भमा बालआश्रमको नियमित अनुगमन, सेवा प्रवाहमा सुधार तथा बालबालिकामैत्री वातावरणको सुनिश्चितताका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको छ।
जिल्ला प्रशासन कार्यालय बर्दिया बालबालिकाको अधिकार संरक्षण, संवेदनशील वर्गको सुरक्षा तथा सम्बन्धित संस्थाहरूबाट प्रदान गरिने सेवाको प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक समन्वय, सहजीकरण र अनुगमनका कार्यमा प्रतिबद्ध रहेको छ।
