घरमै पुगेर १७ वर्षीया अशक्त बालिकालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान
तस्बिर :
बर्दिया, २०८३ असार २४
सेवाग्राहीमैत्री, समावेशी तथा सहज सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकता दिँदै जिल्ला प्रशासन कार्यालय बर्दियाले उठबस गर्न नसक्ने १७ वर्षीया बालिकालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ।
मिति २०८३/०३/२४ गते प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको टोलीले मधुवन नगरपालिका वडा नं. १ निवासी उक्त बालिकाको निवासमै पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो।
शारीरिक अवस्थाका कारण जिल्ला प्रशासन कार्यालयसम्म उपस्थित हुन असमर्थ सेवाग्राहीलाई घरमै पुगेर सेवा प्रदान गरिएको यस कार्यले नागरिकलाई सहज, पहुँचयोग्य र समावेशी सेवा उपलब्ध गराउने नेपाल सरकारको नीतिलाई व्यवहारमा कार्यान्वयन गरेको छ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले भविष्यमा पनि ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा कार्यालयसम्म आउन असमर्थ नागरिकलाई कानुनबमोजिम आवश्यक सेवा सहज रूपमा उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।
