बर्दियामा कार्यालय प्रमुखहरूको बैठक सम्पन्न
तस्बिर :
गुलरिया, बर्दिया । मिति २०८३ साल भाद्र १० गते बुधबार जिल्ला प्रशासन कार्यालय, बर्दियाको सभाहलमा प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमालज्यूको अध्यक्षतामा बर्दिया जिल्लालाई कार्यक्षेत्र बनाई कार्यरत विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा कार्यालय प्रमुखहरूको बैठक सम्पन्न भएको छ।
बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षा, सुशासन, सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी एवं नागरिकमैत्री बनाउने उपाय, विकास निर्माणका कार्यमा देखिएका समस्या तथा अन्तरनिकाय समन्वय, सार्वजनिक सरोकारका विषय तथा समसामयिक अवस्थालगायतका विषयमा छलफल गरिएको थियो। भने नापी कार्यालय बर्दियाबाट भू उपयोग व्यवस्थापन र स्वास्थ्य कार्यालय बर्दियाबाट डेंगी रोग नियन्त्रणका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो।
बैठकमा सहभागी विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूबाट आ–आफ्नो कार्यालयसँग सम्बन्धित सेवा प्रवाह, विकास निर्माण, समन्वय तथा जिल्लाको समग्र अवस्था सम्बन्धी विवरण, समस्या र सुझावहरू प्रस्तुत गरिएको थियो। प्राप्त विवरण तथा सुझावमाथि छलफल गर्दै सेवा प्रवाहलाई थप सरल, सहज, छिटो, पारदर्शी र प्रभावकारी बनाउने, विकास निर्माणका कार्यमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्ने तथा सार्वजनिक सरोकारका विषयमा संवेदनशील र जिम्मेवार भई कार्यसम्पादन गर्ने सम्बन्धमा आवश्यक निर्णय गरिएको छ।
बैठकले भएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै निर्णय कार्यान्वयनको प्रगतिका सम्बन्धमा आगामी कार्यालय प्रमुखहरूको बैठकमा समीक्षा गर्ने निर्णयसमेत गरेको छ। साथै, जिल्लामा सरुवा भई नयाँ जिम्मेवारीमा आउनुभएका विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरूलाई बैठकमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमालज्यूले जिल्लाको शान्ति सुरक्षा, सुशासन र प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि सबै सरकारी निकायबीच निरन्तर समन्वय, सहकार्य र जिम्मेवारीपूर्ण कार्यसम्पादन आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले नागरिकले राज्यबाट प्राप्त गर्ने सेवामा सहजता र विश्वासको अनुभूति हुने गरी कार्यसम्पादन गर्न सबै कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई आग्रह गर्नुभयो।
बैठकले जिल्लाको समग्र विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन कार्यालयहरूबीचको समन्वयलाई थप सुदृढ गर्ने प्रतिबद्धतासहित सम्पन्न भएको छ।
