DEOC र LEOC लाई विपद् व्यवस्थापनमा थप प्रभावकारी बनाउन समन्वय बैठक सम्पन्नः
तस्बिर :
DEOC र LEOC लाई विपद् व्यवस्थापनमा थप प्रभावकारी बनाउन समन्वय बैठक सम्पन्नः
बर्दिया, असोज २० गते मंगलबार जिल्ला प्रशासन कार्यालय, बर्दियामा विपद् व्यवस्थापन कार्यलाई थप प्रभावकारी, समन्वयात्मक र सक्रिय बनाउने उद्देश्यले जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (DEOC) र स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र (LEOC) बीच समन्वय बैठक सम्पन्न भएको छ। बर्दिया जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी श्री अशोक कुमार भण्डारीको संयोजकत्वमा स्थानीय तहका विपद् सम्पर्क व्यक्ति, विपद्का क्षेत्रमा कार्यरत विषयगत सरकारी कार्यालयका विपद् सम्पर्क व्यक्तिहरुको सहभागितामा छलफल गरिएको थियो।
बैठकमा विपद्को समयमा सूचना संकलन तथा आदान–प्रदान, सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, खोज तथा उद्धार कार्यलाई चुस्त बनाउने, विपद् पूर्वतयारी तथा प्रतिकार्यलाई थप व्यवस्थित गर्ने लगायतका विषयमा छलफल भएको थियो।
त्यसैगरी, DEOC र LEOC को भूमिकालाई थप स्पष्ट तथा प्रभावकारी बनाउँदै विपद्का समयमा स्थानीय तहदेखि जिल्ला तहसम्म सूचना तथा समन्वय प्रणालीलाई मजबुत बनाउने विषयमा समेत छलफल गरिएको थियो।
बैठकले विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायबीच निरन्तर समन्वय र सहकार्य गर्ने, विपद्सम्बन्धी सूचना तथा विवरणको समयमै आदान–प्रदान गर्ने र आवश्यकताअनुसार तत्काल प्रतिकार्यका लागि सक्रिय रहनेलगायतका आवश्यक निर्णय गरेको जनाइएको छ।
