बर्दिया जिल्ला कार्यक्षेत्र भएका कार्यालय प्रमुखहरुको बैठक सम्पन्न
तस्बिर :
जिल्ला प्रशासन कार्यालय, बर्दियाको आयोजनामा बर्दिया जिल्ला कार्यक्षेत्र भएका सरकारी कार्यालयका कार्यालय प्रमुखहरुको बैठक मिति २०८३/०६/०६ गते जिल्ला प्रशासन कार्यालय, बर्दियाको सभाहलमा सम्पन्न भएको छ। बैठकमा शान्ति सुरक्षा, सुशासन, सार्वजनिक सेवा प्रवाह, नागरिकमैत्री सेवा, विपद् पूर्वतयारी, अन्तरनिकाय समन्वय तथा नजिकिँदै गरेको बडादशैंको समयमा कार्यालय सञ्चालन र सुरक्षा व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्वीकृत “सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३” प्रभावकारी रुपमा कार्यान्वयन गर्दै सेवाग्राहीलाई सहज, छिटो, छरितो, पारदर्शी तथा गुणस्तरीय सेवा उपलब्ध गराउने, अनावश्यक रुपमा पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्ने तथा सम्भव भएसम्म एकद्वार प्रणालीमार्फत सेवा उपलब्ध गराउने निर्णय भएको छ। साथै अपाङ्गता भएका व्यक्ति, अशक्त व्यक्ति, गर्भवती महिला, सानो बच्चा भएका महिला, ज्येष्ठ नागरिक तथा टाढाबाट आएका सेवाग्राहीलाई प्राथमिकता दिने, नागरिक सहायता कक्षमार्फत आवश्यक निवेदन तथा फारम, फोटोकपी, स्क्यान, इमेल तथा प्रिन्टलगायतका सेवा निःशुल्क उपलब्ध गराउने र कार्यालयका सेवा तथा सूचनाहरु वेबसाइट तथा सामाजिक सञ्जालमार्फत नियमित रुपमा सम्प्रेषण गर्ने विषयमा जोड दिइएको छ।
बैठकमा नेपाल मौसम विज्ञान विभागबाट प्राप्त सूचना अनुसार बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा वर्षा हुने सम्भावना रहेको र सोबाट बर्दिया जिल्लामा समेत सम्भावित प्रभाव पर्न सक्ने विषयमा छलफल भएको थियो। उक्त वर्षा गराउने मौसम प्रणालीको निरन्तर निगरानी गर्ने, मौसम पूर्वानुमान तथा चेतावनीसम्बन्धी सूचना नियमित रुपमा आदानप्रदान गर्ने र सम्भावित जोखिम न्यूनीकरण तथा विपद् प्रतिकार्यका लागि आवश्यक पूर्वतयारी अवस्थामा रहन सम्बन्धित सबै निकायहरुलाई सतर्क गराउने तथा आवश्यक समन्वय गर्ने निर्णय भएको छ। साथै, जिल्लावासी नागरिकहरुलाई समेत मौसमसम्बन्धी आधिकारिक सूचना तथा चेतावनीलाई ध्यानपूर्वक पालना गर्न, नदी, खोला तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, सम्भावित जोखिमबाट सुरक्षित रहन आवश्यक पूर्वतयारी अपनाउन तथा विपद्को अवस्था सिर्जना भएमा सम्बन्धित सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गर्न अनुरोध गरिएको छ।
बैठकले सरकारी कार्यालय आसपास सेवाग्राहीलाई सहयोग तथा सहजीकरण गर्ने नाममा गैरकानूनी रुपमा रकम असुल गर्ने वा सेवाग्राहीलाई अनावश्यक दुःख दिने कार्यको निगरानी गरी प्रचलित कानूनबमोजिम कारवाही गर्ने, नजिकिँदै गरेको बडादशैंको समयमा शान्ति सुरक्षा तथा पालोपहराको उचित व्यवस्था मिलाउने तथा मातहत वा तालुक निकायबाट माग भएका विवरण, तथ्याङ्क र कार्यप्रगति समयमै उपलब्ध गराउने निर्णय गरेको छ। बैठकबाट भएका निर्णयहरु सम्बन्धित कार्यालयहरुले आ–आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा आवश्यक विषयमा आपसी समन्वय र सहकार्य गर्ने निर्णय भएको छ।
