जिल्ला प्रशासन कार्यालय बर्दियाद्वारा अनलाइन निवेदन सेवा सुरु, सेवाग्राहीलाई थप सहजता
तस्बिर :
मितिः २०८३।०६।२३ गते गुलरिया, बर्दिया। जिल्ला प्रशासन कार्यालय बर्दियाले सेवाग्राहीलाई सहज, सरल र व्यवस्थित रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले अनलाइन निवेदन सेवा सुरु गरेको छ। कार्यालयले विगत लामो समयदेखि स्थानीय तहको सिफारिससहित सेवा लिन आउने सेवाग्राहीका लागि निवेदन आवश्यक नपर्ने व्यवस्था गर्दै आएकोमा उक्त व्यवस्थालाई थप व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन अनलाइन निवेदन प्रणालीको सुरुवात गरेको हो।
नयाँ व्यवस्थाअनुसार कार्यालयमा सेवा लिन आउँदा आवश्यक पर्ने उजुरी वा निवेदन सेवाग्राही स्वयंले अनलाइनमार्फत पेस गर्न सक्नेछन्। यसका लागि कार्यालयले उपलब्ध गराएको अनलाइन लिङ्कमा गई ‘अनलाइन निवेदन बुझाउनुहोस्’ भन्ने विकल्पमा क्लिक गरी आवश्यक विवरण भरेर निवेदन पठाउन सकिने व्यवस्था मिलाइएको छ।
यसरी अनलाइनमार्फत पठाइएको निवेदन सिधै जिल्ला प्रशासन कार्यालयको आधिकारिक इमेलमा प्राप्त हुने र कार्यालयले नै निवेदन प्रिन्ट गरी उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसबाट सेवाग्राहीले बाहिरबाट निवेदन लेखाउनुपर्ने वा प्रिन्ट गरेर कार्यालयमा ल्याउनुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। साथै, बाहिरबाट लेखेर ल्याइने विभिन्न उजुरी तथा निवेदनलाई व्यवस्थित गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यालयबाटै कर्मचारीले सेवाग्राहीको निवेदन भरिदिने व्यवस्था यथावत् रहेको छ। तथापि, आफैँ निवेदन भर्न चाहने सेवाग्राहीका लागि अनलाइन प्रणाली वैकल्पिक माध्यमका रूपमा उपलब्ध गराइएको हो। यसले सेवाग्राहीको समय र खर्च बचत गर्नुका साथै सेवा प्रवाहमा सहजता, पारदर्शिता र व्यवस्थित कार्यसम्पादनमा सहयोग पुर्याउने विश्वास लिइएको छ।
अनलाइन निवेदन पेस गर्ने लिङ्क:
https://script.google.com/.../AKfycbxwOuSJKqenQ6rxQU.../exec
जिल्ला प्रशासन कार्यालय बर्दियाले सेवाग्राहीलाई उपलब्ध अनलाइन निवेदन सेवाको उपयोग गरी प्रशासनिक सेवा प्राप्त गर्ने प्रक्रियालाई थप सहज बनाउन अनुरोध गर्दछ।
