बढैयाताल गाउँपालिकामा बजार अनुगमन, ग्यासको अवस्था सामान्य
तस्बिर :
बढैयाताल गाउँपालिकामा बजार अनुगमन, ग्यासको अवस्था सामान्य । बर्दिया, २०८३/०५/३०
जिल्ला प्रशासन कार्यालय बर्दियाले बढैयाताल गाउँपालिका क्षेत्रअन्तर्गतका विभिन्न पसल तथा व्यवसायहरूको स्थलगत अनुगमन गरेको छ। जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत श्री लोक प्रसाद ढकालको नेतृत्वमा गरिएको अनुगमनमा उपभोक्ताको हित, व्यवसाय सञ्चालनको अवस्था तथा दैनिक उपभोग्य वस्तुको उपलब्धताका विषयमा स्थलगत निरीक्षण गरिएको हो।
अनुगमनका क्रममा ५ वटा ग्यास बिक्री केन्द्र, ९ वटा किराना तथा जनरल स्टोर, १ वटा होटल तथा रेष्टुरेन्ट र २ वटा मदिरा पसल गरी जम्मा १७ वटा व्यवसायको स्याम्पलिङका रूपमा स्थलगत अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा अधिकांश व्यवसायीहरूले मूल्यसूची नराखेको तथा मूल्यसूची राखेका व्यवसायीहरूले समेत त्यसलाई नियमित रूपमा अद्यावधिक नगरेको पाइएको छ। यस सम्बन्धमा मूल्यसूची अनिवार्य रूपमा राख्न तथा समयानुकूल अद्यावधिक गरी उपभोक्तालाई स्पष्ट रूपमा देखिने स्थानमा राख्न व्यवसायीहरूलाई निर्देशन दिइएको छ।
त्यसैगरी, अनुगमनका क्रममा एक जना व्यवसायीले सम्बन्धित निकायमा आवश्यक दर्ता नगरी ग्यासको बिक्रीवितरण गरिरहेको पाइएकोले तत्काल सम्बन्धित निकायमा व्यवसाय दर्ता गरी कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ। अन्य अनुगमन गरिएका व्यवसायहरूको अवस्था भने सामान्य रहेको पाइएको छ।
ग्यास बिक्री केन्द्रहरूको अवस्थासमेत निरीक्षण गर्दा सबै बिक्री केन्द्रमा ग्यासको मौज्दात रहेको र ग्यासको उपलब्धता तथा बिक्रीवितरणको अवस्था सामान्य रहेको पाइएको छ। अनुगमनका क्रममा ग्यासको अभाव वा अस्वाभाविक रूपमा बिक्रीवितरणमा समस्या देखिएको नदेखिएको।
