बढैयाताल गाउँपालिकामा २९ सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण
तस्बिर :
बर्दिया, २०८३ असार१८
जिल्ला बर्दियाको बढैयाताल गाउँपालिका-४, खैरेनीस्थित वडा कार्यालयमा मिति २०८३/०३/१८ गते आयोजित एक विशेष कार्यक्रममा बढैयाताल-४ मानकिनार बस्तीका २९ (उनान्तिस) भूमिहिन दलित र भूमिहिन सुकुम्बासी घरधुरीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ। बर्दियाका प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमालज्यूको अध्यक्षता र भूमि समस्या समाधान समितिका केन्द्रीय अध्यक्ष श्री बलभद्र बास्तोलाज्यूको प्रमुख आतिथ्यता र आयोगका सदस्य श्री पदमनिधी सोतीको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला भूमि समस्या समाधान समिति बर्दियाका पदाधिकारीहरु, बढैयाताल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।
नेपाल सरकारको भूमिसम्बन्धी नीति तथा कार्यक्रमअनुसार भूमिहीन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानअन्तर्गत लालपुर्जा वितरण कार्यलाई निरन्तरता दिइएको हो। यसबाट लाभग्राही परिवारले आफ्नो जग्गामाथि कानुनी स्वामित्व प्राप्त गरी विभिन्न सरकारी सेवा तथा सुविधामा सहज पहुँच प्राप्त गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा लाभग्राही सुकुम्बासी परिवारलाई लालपुर्जा हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी हमालले भूमिहीन तथा सुकुम्बासी नागरिकलाई जग्गाको कानुनी स्वामित्व प्रदान गर्नु राज्यको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसले नागरिकको सामाजिक तथा आर्थिक सुरक्षामा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
