2 दिन अगाडी
2083-02-06
तस्बिर :
बर्दिया, २०८३ जेठ ६ गते । बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमालज्यूको अध्यक्षता तथा गुलरिया नगरपालिकाका नगर प्रमुख श्री मुक्तिनाथ यादवज्यूको प्रमुख आतिथ्यता र नगर उपप्रमुख श्री सावित्रा गौतम एवम् प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद जैसीको विशेष उपस्थितिमा गुलरिया नगरपालिकामा सेवा प्रवाह सम्बन्धी सहजीकरण, समन्वय तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय बर्दियाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय तहबाट प्रवाह भइरहेका सेवा, जनगुनासो व्यवस्थापन, सेवा वितरणमा देखिएका समस्या तथा समाधानका उपायबारे छलफल तथा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा सहभागी सरोकारवालाहरूले सेवा प्रवाहलाई थप प्रभावकारी, सहज, पारदर्शी र जनमैत्री बनाउन आवश्यक सुझाव तथा धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमालज्यूले नागरिकलाई समयमै गुणस्तरीय सेवा उपलब्ध गराउनु राज्यका सबै निकायको साझा दायित्व भएको उल्लेख गर्दै सेवा प्रवाहमा समन्वय, जवाफदेहिता र प्रभावकारितालाई थप मजबुत बनाउनुपर्ने बताउनुभयो। उहाँले सार्वजनिक सुनुवाईमार्फत प्राप्त सुझाव तथा गुनासाहरूलाई सम्बोधन गर्दै सेवा प्रणालीलाई अझ सुधार गर्न प्रशासन प्रतिबद्ध रहेको जानकारी दिनुभयो।
प्रमुख अतिथि नगर प्रमुख श्री मुक्तिनाथ यादवज्यूले स्थानीय सरकार नागरिकको नजिकको सरकार भएकाले जनअपेक्षा अनुसार सेवा प्रदान गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले सेवा प्रवाहमा देखिएका चुनौती समाधानका लागि जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायबीच सहकार्य र समन्वय अझ सुदृढ गरिने धारणा व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख/प्रतिनिधि, जनप्रतिनिधि, वडा अध्यक्ष, वडा सचिव, सञ्चारकर्मी, नागरिक समाज तथा स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो। सहभागीहरूले सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी र उत्तरदायी बनाउन सम्बन्धित निकायको सक्रियता आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा स्थानीय नागरिकहरूले विभिन्न सेवा प्रवाहसँग सम्बन्धित जिज्ञासा, गुनासा तथा सुझाव प्रस्तुत गरेका थिए भने सम्बन्धित निकायका प्रतिनिधिहरूले त्यसबारे आवश्यक जवाफ तथा जानकारी प्रदान गरेका थिए। कार्यक्रमले स्थानीय तहमा सेवा प्रवाह सुधार तथा जनउत्तरदायी प्रशासन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।