बर्दिया कारागारमा “AI X-Ray विधिद्वारा क्षयरोगको सक्रिय खोजपड्ताल” शिविर
1 months ago
2083-01-11
Images :
बर्दिया कारागारमा “AI X-Ray विधिद्वारा क्षयरोगको सक्रिय खोजपड्ताल” शिविर स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश सरकारको आयोजनामा मिति 2083/01/11 र 12 गते शुरु भइरहेको छ। उक्त कार्यक्रमको प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमालबाट उद्घाटन गरिएको थियो। दुई दिनसम्म सञ्चालन हुने यस शिविरमा कारागारभित्र रहेका कैदीबन्दीहरूको स्वास्थ्य अवस्था परीक्षण गरी विशेषगरी क्षयरोग (टीबी) को प्रारम्भिक चरणमै पहिचान गर्ने प्रयास गरिएको थियो। AI X-Ray प्रविधिको प्रयोगले छातीको एक्स–रे विश्लेषण गरी क्षयरोगको सम्भावित जोखिम छिटो र सटीक रूपमा पत्ता लगाउन सहयोग पुर्याएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। कार्यक्रममा सहभागी चिकित्सकहरूका अनुसार, कारागारजस्ता भीडभाडयुक्त स्थानहरूमा क्षयरोग फैलिने जोखिम बढी हुने भएकाले यस्तो प्रविधिमैत्री सक्रिय खोजपड्ताल अत्यन्तै आवश्यक छ। उद्घाटन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी हमालले बन्दीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिनु राज्यको दायित्व भएको उल्लेख गर्दै, यस्ता कार्यक्रमहरूले रोग नियन्त्रण र समयमै उपचार सुनिश्चित गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रमले कारागारभित्र स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै, प्रविधिको प्रयोगमार्फत रोग पहिचानलाई अझ प्रभावकारी बनाउने दिशामा सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ।
